चितवन । चितवनमा सुरक्षित यात्राका लागि अभिमुखिकरण गरिएको छ । आज नारायणगढमा अटोमोबाइल क्षेत्रमा सम्बद्ध सरोकारवालाहरुलाई नेपाल अटोमोबाईल एशोसियनले अभिमुखिकरण गरेको हो । यस अभिमुखिकरणको लागि रोटरी ब्लब, रोट्रयाक्ट, अटोमोबाइल एशोसियन अफ नेपाल, इमेजिन रोट्रयाक्टको समन्वयमा दुईचक्के सवारी साधन चलाउंँदा हेल्मेटको महत्वका बारेमा अभिमुखिकरण गरिएको थियो ।
सो अवसरमा अभिमुखिकरण गर्दै सडक सुरक्षा अभियान्ता गोविन्द भट्राईले दुईचक्के सवारीसाधन चलाउंँदा गुणस्तरीय हेल्मेट अनिवार्य प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । दुर्घटनाको मुख्य कारण स्वयं चालक आफैं भएकोले यसको लागि सावधानी अपनाउनु पर्ने उनको भनाई थियो । चारपांग्रे सवारी साधनभन्दा दुईपाांग्रे सवारी साधनबाट दुर्घटनाको जोखिम र क्षति बढी हुने भएकोले चालक र पछाडि बस्नेले समेत अनिवार्य हेल्मेट प्रयोग गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै रोटरी, चितवनका उपाध्यक्ष रामचन्द्र अधिकारीले नेपालमा चालकको कारणले मात्र नभई सडकको दुरावस्थाका कारण पनि दुर्घटना हुने गरेको बताए । उनले नेपालका सडककोे अवस्थाको अध्ययन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा चितवन अटोमोबाइल डिलर एशोसियशन, चितवनका अध्यक्ष राजन पिया , अटोमोबाईल एशोसियसन अफ नेपाल (नाडा)का केन्द्रिय सदस्य गोपाल भट्टराई लगायतका विभिन्न सामाजिक तथा व्यवसायिक संघसंस्थाका पदाधिकारी, प्रतिनिधि तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
अभिमुखिकरण पश्चात ‘स्लो बाइक राईडिङ्ग कम्पिटिसन’ समेत गराईएको थियो ।