गैँडाकोट, — अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM), गैँडाकोटका BCA कार्यक्रमका तीन विद्यार्थीले प्रत्येक सेमेस्टरमा पूर्ण ४.० मा ४.० GPA हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेका छन्। प्रजोन अधिकारी, फरहान आलम र अनु बरतौला ले आफ्नो सम्पूर्ण सेमेस्टरमा लगातार ४.० GPA हासिल गरेको कलेजले जनाएको छ।
कलेजका अनुसार, पोखरा विश्वविद्यालयको BCA कार्यक्रमको इतिहासमा तीन जना विद्यार्थीले सबै सेमेस्टरमा पूर्ण ४.० GPA हासिल गरेको यो ऐतिहासिक उपलब्धि हो। यस उपलब्धिलाई सम्मान गर्दै अक्सफोर्ड कलेजले २०८३ असोज १४ गते विशेष बधाई तथा सम्मान कार्यक्रम एवं अन्तरक्रिया आयोजना गरेको हो।
कार्यक्रमको सञ्चालन कलेजका भाइस प्रिन्सिपल कृष्णहरि पौडेल ले गर्नुभएको थियो। पौडेलले कार्यक्रमको प्रारम्भमा विद्यार्थीहरूको उपलब्धिलाई कलेजका लागि गौरवको विषयका रूपमा प्रस्तुत गर्दै तीनै जना विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. इ. हरि प्रसाद भण्डारी, प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रिन्सिपल भण्डारीले विद्यार्थीहरूको उत्कृष्ट उपलब्धिप्रति बधाई व्यक्त गर्दै निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताले शैक्षिक सफलताको आधार निर्माण गर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूको सफलतामा उनीहरूको व्यक्तिगत प्रयाससँगै अभिभावकको सहयोग, शिक्षकहरूको मार्गदर्शन तथा कलेजको शैक्षिक वातावरणको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो।
सम्मानित विद्यार्थीहरू प्रजोन अधिकारी, फरहान आलम र अनु बरतौलाले कार्यक्रममा आफ्नो अध्ययन अनुभव, नियमित अध्ययन अभ्यास, सफलताका लागि अपनाएका विधि तथा आगामी योजनाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। उनीहरूले आफ्नो सफलतामा परिवारको निरन्तर सहयोग, शिक्षकहरूको मार्गदर्शन तथा कलेजबाट प्राप्त शैक्षिक वातावरण महत्वपूर्ण रहेको बताएका थिए।
कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अध्ययन संस्कार, निरन्तर उत्कृष्टता कायम राख्ने उपाय तथा आगामी शैक्षिक र व्यावसायिक यात्राका विषयमा प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीहरूबीच अन्तरक्रिया तथा प्रश्नोत्तरसमेत गरिएको थियो।
कार्यक्रमका क्रममा तीनै जना विद्यार्थीलाई कलेजको तर्फबाट बधाई तथा सम्मानसमेत गरिएको थियो। कार्यक्रममा उपस्थित कलेज परिवारले विद्यार्थीहरूको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि उनीहरूले उत्कृष्टता कायम राख्ने विश्वास व्यक्त गरेको थियो।
प्रजोन अधिकारी, फरहान आलम र अनु बरतौलाको यो उपलब्धिले विद्यार्थीहरूको प्रतिभा, मेहनत र निरन्तर अध्ययनप्रतिको प्रतिबद्धतालाई उजागर गर्नुका साथै अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको शैक्षिक यात्रामा एउटा महत्वपूर्ण उपलब्धि थपिएको कलेजले जनाएको छ।
कलेजले विद्यार्थीहरूको प्रतिभा पहिचान, प्रोत्साहन र शैक्षिक उत्कृष्टताका लागि आगामी दिनमा पनि आवश्यक वातावरण निर्माण गर्दै जाने जनाएको छ।











