काठमाडौं । नेपाल वनस्पति घिउतेल उत्पादक संघले तेलको कच्चापदार्थको भाउ महँगो हुँदा प्रशोधित खाने तेलमा मूल्यवृद्धि भएको जिकिर गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै कोभिड महामारी तथा क्रुड तेल उत्पादन हुने देशहरूमा भएको भीषण सुक्खाको कारण र अरू भू–राजनीतिका कारण खाने तेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि हुन गएको दाबी गरेको छ । खाने तेलको मूल्य हालसम्मकै उच्च भएको छ ।
संघमा आबद्ध २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरूले नियमित रूपमा आफ्ना उत्पादनहरू सोयाबिन तेल, सनफ्लावर तेललगायत उत्पादन गरी स्थानीय बजारमा साथै निकासी समेत गर्दै आएको संघले जनाएको छ ।
उद्योगहरूलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायत देशहरूबाट आयात हुन्छ । मुख्य कच्चापदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने संघको भनाइ छ ।