चितवन। कोरोना संक्रमण भएयता गायक श्रेष्ठले कुनै पनि सांगितिक कार्यक्रम गरेका छैनन् । तिनै गायक श्रेष्ठ लामो समयपछि सांगितिक कार्यक्रममा पुनरागमन गर्दैछन् । भरतपुर महानगरपालिका ६ देवनगर/चम्पानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्ने कार्यक्रममा उनले दर्शक झुमाउने भएका छन् । चितवन तताउन वरिष्ठ गायक दीप श्रेष्ठ यहाां आउने भएका छन । अंग्रेजी पुरानो बर्षलाई विदाई गर्न र नयांँ बर्षलाई स्वागत गर्न उनी चितवन आउने भएका हुन् ।
अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन ३१ डिसेम्बरमा एलटिकेमा ‘दीप श्रेष्ठ म्युजिकल नाइट’ हुने भएको हो । कोरोनापछि श्रेष्ठको यो नै पहिलो सांगितिक कार्यक्रम हो । श्रेष्ठले कोरोनालाई जितेर पूनर्जन्म पाएको खुशीयालीमा कार्यक्रम आयोजना गरिएको आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।
रिसोर्टका सञ्चालक देवेन लोहनीले मृत्युलाई जितेपछि पहिलो पटक गायक श्रेष्ठको सांगितिक कार्यक्रम हुन लागेको बताए । यो ऐतिहासिक कार्यक्रम हुने समेत लोहनीले बताए ।
गायक श्रेष्ठको पूनर्जन्मको खुशीयालीमा कार्यक्रम आयोजना गरिएकोले सबैलाई सहभागी हुन उनले आग्रह गरे । कार्यक्रमका लागि चितवन, सहित काठमाडौं, धरानलगायतका जिल्लाबाट समेत टिकट बुकिङ भइरहेको उनले बताए ।
गायक श्रेष्ठले मृत्युसँगको लडाईमा बिजय भएपछि पहिलो पटक चितवनको कार्यक्रममा आफ्नो प्रस्तुती दिन लागेको बताए । उनले आफ्नो पूनर्जन्मको खुशीयालीको रुपमा समेत कार्यक्रम आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह गरे ।
आफ्ना नयाँ तथा पुराना गरी करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए । गायक श्रेष्ठले ‘म त दुरदेखि आए’, ‘हर रात सपनीमा’,‘वितेका कुरा’,‘एउटै बाटो’, ‘उ यात्री’ ‘सपनालाई अंगालेर’ लगायत दर्जनौ सुपरहिट गीतहरु गाएका छन् ।
कार्यक्रममा गायक श्रेष्ठसँगै अभिनेत्री गौरी मल्ल, बेलि डान्सर विनु शाक्य, गायिका अन्जना राईलगायतको पनि प्रस्तुती रहनेछ । कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ । कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ । टिकटसँगै वेलकम ड्रिङ्स र अनलिमिटेड स्न्याक्सको व्यवस्था रहने आयोजकले जानकारी दिएको छ ।