मस्को, जेलमा परेका रूसी प्रशासन केन्द्र क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले बुधबार फ्रान्सेली मतदाताहरूलाई राष्ट्रपतिको दोस्रो राउन्डको मतदानमा वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोँलाई समर्थन गर्न आह्वान गर्नुभएको छ ।
उहाँले फ्रान्सका विपक्षी नेता मेरिन ले पेनको पार्टीको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकटता भएको दावी पनि उहाँले गर्नुभएको छ ।
“मैले बिना कुनै संकोच अप्रिल २४ मा इम्मानुयल म्याक्रोँको लागि मतदान गर्न फ्रान्सका जनतालाई आग्रह गर्दछु,“ नाभाल्नीले फ्रान्सेली र अंग्रेजी दुबै भाषामा ट्विटरमा भने।
ले पेनको पार्टीले पुटिनको अवैध कमाईलाई वैधता प्रधान गर्ने चेक गणतन्त्रमा रहेको रूसी स्वामित्वको बैंकबाट ९० लाख यूरो ऋण पाएको भन्दै यसबाट आफू ‘दुःखी’ बनेको कुरा नाभाल्नीले बताउनुभएको छ ।
पैतालीस बर्षय नाभल्नीले भन्नुभयो, “यी मानिसहरूसँग वार्ता र तिनीहरूसँगको व्यवहारले ले पेनको दलमा पुटिनको राजनैतिक छहारी पनि समावेश छ भन्ने कुरामा मलाई कुनै शङ्का छैन ।”
उहाँले थप्नुभयो, “यो भ्रष्टाचार हो । यसले पुटिनलाई राजनैतिक प्रभाव बेचिरहेको छ ।” 
उहाँले फ्रान्स आफ्नो हृदयको केन्द्रमा रहेको भन्दै धेरै कारणले फ्रान्सेलीहरूलाई सम्बोधन गर्न सक्ने दावी गर्नुभएको छ ।
फ्रान्सेली कस्मेटिक्स कम्पनी वाइभ्स रोचरलाई संकेत गर्दै उहाँले भन्नुभयो, “एउटा फ्रान्सेली कम्पनीले गरेको अपराधिक उजुरीका कारण म जेलमा छु ।”
सन् २०२० मा सोभियतकालिन डिजाइनका बनाइएको बिषाक्त पदार्थ ‘नर्भ एजेन्ट’ नोभिचोकको आक्रमणपछि निकै गम्भीर स्वास्थ्य अवस्थामा पुगेका नाभाल्नीले आक्रमणमा क्रेमलिनको हात रहेको बताउँदै आउनु भएको छ ।
गत महिना एउटा रूसी अदालतले अदालतको बेइज्जत र अवहेलना गरेको नयाँ अभियोगमा नाभाल्नीलाई नौ वर्षको सजाय सुनाइएको थियो ।


        
        
        
        
        
        
        
        
        
	 
	 
	 
	 
	 
	 
  		
	 
	 
	 
	 
	 
	 






