चितवन । चितवनमा सेफ्टी ट्यांँकी सफा गर्ने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ तमुटोल बस्ने कपिलबस्तु नगरपालिका वडा नम्बर ९ का छतिराम थारु र उनका साला नातापर्ने राम चौधरी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज सांँझ सांँढे ६ बजे तमुटोलकै राम प्यारी गुरुङ्गको घरमा रहेको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा छतिराम थारु चिप्लिएर सेफ्टी ट्यांँकी भित्र खसेका थिए । थारुलाई निकाल्न उनका साला भित्र पसेकोमा दुबै जना बाहिर निस्कन सकेका थिएनन । कार्यालयका प्रहरी प्रवक्ता नरहरि अधिकारीले उनीहरु निस्सासिएर मरेको हुन सक्ने बताए ।‘ के कारणले मृत्यु भयो भन्ने शव परिक्षण मात्र भन्न सकिन्छ, उनले भने, निस्सासिएर वा डुबेर मरेको हुन सक्छ ।’ घटना भएलगत्तै नेपाल प्रहरी, नेपाली सेना तथा शसस्त्र प्रहरीको टोलीले उद्धार गरी शव परीक्षणको लागि राती ९ बजे भरतपुर अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।