बेइजिङ । चीनमा भौतिक शास्त्र विषय पढाउने एक शिक्षकले पढाउँदै गर्दा ध्यान नदिएको रिसको झोकमा १५ वर्षीय छात्रको चस्मा नै चकनाचुर हुनेगरी बेस्सरी मुक्का प्रहार गरेका छन् । अनुहारमा लागेको चोटको कारण ती विद्यार्थीको १६ वटा टाँका लगाउनुपरेको छ ।
दि साउथ चाइना मर्निङ पोस्टकाअनुसार उत्तर पश्चिमी चीनको युलिन सहरस्थित याङझु माध्यमिक विद्यालयका ती शिक्षकलाई जेङ नामक विद्यार्थीको अनुहार र छातीमा मुक्का बर्साएका कारण जागिरबाट बर्खास्त गरिएको छ ।
आक्रमणपछि ती शिक्षक आफैँले जेङलाई अस्पतालमा लगेर उपचार गराएका थिए । चस्माको टुक्रिएको काँचले काटेर जेङको अनुहारको थुप्रै ठाउँमा घाउ लागेको छ भने त्यसमा पनि आँखाको डिलमा दुई सेन्टिमिटर लामो काटिएको देखिन्छ । ती शिक्षकले जेङका अभिभावकलाई छोरालाई अस्पतालमा लगिएको सन्देश दिएपनि आफूले गरेको आक्रमण र १६ टाँका लगाउनुपरेकोबारे केही पनि बताएका थिएनन् ।
पीडित विद्यार्थीका आमाले दि मर्निङ पोस्टलाई भनेकी छन्, “यी शिक्षकले दोस्रोपटक हाम्रो छोरोलाई गम्भीर रूपमा शारीरिक र मानसिक चोट पुर्याएका छन् । हामी भित्र भित्रै मर्माहत छौँ ।”
घाउको दाग बस्ने चिन्ता बढेपछि जेङको थप विशेष उपचार भएको थियो । उनका पिताले भनेका छन्, “मेरो छोरोले अब आफ्नो अनुहार निकै कुरूप देखिने भएकाले कहिल्यै विद्यालय नजाने भनेका छन् । घाउको दाग नहटेसम्म उनी बिद्यालय जान नसक्ने भएका छन् ।”
ती शिक्षकले विगतमा अन्य विद्यार्थीहरूलाई पनि कुटपिट गर्ने गरेको बताइएको छ । यस घटनालाई लिएर उनले जेङका मातापितासँग क्षमायाचना गरेका थिए । तर उनीहरूले उनलाई कडा सजाय दिन दबाब दिएपछि प्रधानाध्यापकले उनलाई जागिरबाटै निकालेका हुन् ।
नेक्स्ट सार्कबाट ।