भरतपुर÷चितवन प्रदर्शनी केन्द्रमा यही बैशाख २२ गतेदेखि शुरु भएको सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० को समापन गरिएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीको अन्तिम दिन जिल्लाभित्र र बाहिरी जिल्लाका अवलोकनकर्ताहरुले उत्साहजनक सहभागिता रहेको थियो ।
प्रदर्शनीको समापनको दिन जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटा, कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी, माडी नगरपालिकाकी नगरप्रमुख तारा काजी महत्तो लगायतको टोलीले छुट्टाछुट्टै अवलोकन गरेका थिए ।
त्यस्तै प्रदर्शनीमा कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख धिरेन्द्र प्रसाद पोखरेल, घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश, तथ्याङ्क कार्यालय चितवनका तथ्याङ्क अधिकृत यज्ञमूर्ति भण्डारी लगायतको नेतृत्वमा प्रदर्शनीको अवलोकन गरेका थिए ।
त्यस्तै प्रदर्शनीमा रुपन्देही उद्योग संघ, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ, राप्ती उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओम प्रसाद डल्लाकोटी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ माडीको टोलीले समेत छुट्टाछुट्टै रुपम प्रदर्शनीको अवलोकन गरेका थिए ।
त्यस्तै प्रदर्शनीमा निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनका अध्यक्ष हरि प्रसाद गैरे, हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश कुमार चुके लगायत सम्बन्धित संस्थाका प्रतिनिधिहरु लगायत उद्योगी, व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रदर्शनीमा भारत लगायत भारतलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको विभिन्न मुलुकका १० कम्पनीहरु सहित स्वेदशी ८३ उद्योगहरुको ११० वटा स्टलहरु रहेका थिए । प्रदर्शनीमा रहेका स्टलहरुमा स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थहरुको प्रयोग गरी बनाइएका उत्पादन, हस्तकलाका सामानदेखि स्वदेशमा निर्मित प्रविधि तथा मेशिनरीहरु र अधिकांश स्वदेशी उद्योगहरुले प्रयोग गर्ने मेशिनरी तथा प्रविधिहरुको निर्माण गर्ने विदेशी कम्पनीले आफ्ना उत्पादनहरुलाई प्रदर्शनीको माध्यमबाट बजारीकरण गरेका थिए ।
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको प्रबद्र्धन सहयोगमा स्वदेशी लघु, घरेलु तथा साना उद्योगहरुको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको लागि आवश्यक मेशिन तथा प्रविधि र औद्योगिक उत्पादनका स्टलहरु राखिएको थियो ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन तथा चितवनका स्थानीय पालिकाहरुको प्रबद्र्धन सहयोग र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघ एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा फ्युचरेक्स टे«ड फेयर एण्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा आयोजना गरिएको प्रदर्शनीको एक कार्यक्रमका बीच समापन गरिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।